Bisal Chautari Logo

बझाङमा यसरी झुमे संगीत तथा नाटकका पारखी (फोटो फिचर सहीत)

- २२ माघ २०७०, बुधबार ०४:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
बझाङ्ग, २२ माघ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग, लोक सङ्गीत विभाग र नृत्य विभागको संयुक्त आयोजना तथा नेपाल स्काउट जिल्ला स्काउट कार्यालय बझाङ्गको स्थानीय संयोजनमा मिति २०७० माघ २० गते र २१ गते २ दिवशीय विचार गोष्ठी तथा अन्तरक्रिया र सांस्कृतिक उत्सव एवं कला साधक सम्मान कार्यक्रम बझाङ्गमा सम्पन्न भएको छ । गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ‘बझाङ्ग जिल्लाको लोक गीत, लोक नृत्य र लोकबाजाको विवेचनात्मक अध्ययन’ विषयक कार्यपत्र संस्कृतिकर्मी एवम् कलाकर्मी श्री गाणेशराज जोशी (शिक्षाप्रेमी जोशी)ले प्रस्तुत गरेका थिए ।
गोष्ठीमा बझाङ्ग जिल्लाका कलाकर्मी, प्रबुद्ध वर्ग र संघसंस्थाका प्रतिनिधिहरु बीच व्यापक छलफल र अन्तरक्रिया भएको थियो । दोश्रो दिनको सांस्कृतिक उत्सव एवम् कला साधक सम्मान कार्यक्रममा बझाङ्ग जिल्लाका स्थानीय मागल, न्याउल्या, डेउडा, भारि खेल, ढुस्को, धमारी, भुवो, हुडक्यौली लगायत १२ प्रकारका विभिन्न परम्परागत तथा मौलिक गीत र नृत्य प्रस्तुत गरिएका थिए । नृत्य प्रस्तुत गर्ने सबै समुदायका संस्था तथा कलाकर्मीहरुलाई प्रज्ञा प्रतिष्ठानबाट नगद पुरस्कार र प्रमाणपत्रहरु प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विधामा विधागत योगदन पुर्‍याउनु हुने : लोक देउडा गायनमा नन्दकृष्ण जोशी र नरेन्द्रराज रेग्मी तथा नृत्य एवम् नाट्य विधामा गणेशराज जोशी          (शिक्षाप्रेमी जोशी)लाई जनही नगद रु. १०,०००।– पुरस्कार, ताम्रपत्र र दोसल्ला सहित सम्मान गरिएको  थियो । यसैगरी स्थानीय संयोजक नेपाल स्काउट जिल्ला स्काउट कार्यालय, बझाङ्गलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो भने स्थानीय कलाकार, संस्कृतिकर्मी, लोक संस्कृतिमा योगदान पुर्‍याउनु हुने १५ जना विशिष्ट व्याक्तित्वहरुलाई प्रतिष्ठानको प्रतिक चिन्ह प्रदान गरिएको थियो । प्राज्ञ कविता आलेको अध्यक्षतामा सञ्चालन गरिएको दुवै दिनको कार्यक्रममा प्राज्ञ मिथिला शर्माले स्वागत मन्तब्य राखेकी थिइन् । प्राज्ञ यज्ञराज उपाध्यायले कार्यक्रमको उद्देश्य, अवधारणाबारे प्रकाश पार्दै बझाङ्ग जिल्ला लोक संस्कृतिको क्षेत्रमा उर्वर भूमिको रुपमा रहेको र यस जिल्लाका लोक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट निरन्तर सहयोग र साथ रहने कुरा बताए । सम्मानित कलाकारहरुलाई कार्यक्रममा तीनै जना प्राज्ञ र प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाबाट संयुक्त रुपमा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका तर्फबाट पनि केही गीत र नृत्यहरु प्रस्तुत गरिएका थिए । प्रमुख जिल्ला अधिकारीले लोक संस्कृतिको उन्नयनका लागि नेपाल सरकारको तर्फबाट आफूले गर्न सक्ने सहयोगमा निरन्तर लागि पर्ने बताएका थिए । स्थानीय संयोजक शिक्षाप्रमी जोशीले अत्यन्त विकट जिल्ला बझाङ्गमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले सबैमा उत्साह बढाएको र नयाा पुस्तामा संस्कृति प्रतिको अपनत्व जगाएको बताएका थिए । कार्यक्रममा कलाकार, साहित्यकार, राजनीतिक दलका प्रतिनिधि लगायत ठुलो जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया