Bisal Chautari Logo

राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ बैशाख १ बाट प्रशारणमा आउने

- २३ चैत्र २०८०, शुक्रबार २२:१८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र २३ शुक्रवार।
महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भाग सम्म तयार गरिएको र सय भाग सम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए।

कर्मठ हातको कथा,रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरि १९ भाग तयार गरिएको छ। कार्यक्रम बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा साँझ ७ बजे प्रशारण हुनेछ। अमेरिकामा र क्यानाडामा रहनु भएका सफल ब्यक्तित्वहरुको कथालाई यसरी कार्यक्रम गर्न पाँउदा खुसी लागेको सुमनले बताए।

कार्यक्रममा बोल्दै महानायक हमालले भने ”बिदेशमा रहेर धेरै चुनौती सहेर संघर्षको बाबजुत पनि सफलता हासिल गर्नु भएको छ उहाँहरुले उल्लेख्य सफलता हासिल गर्नु भएको छ, अमेरिकी समाजमा अब्बल रहनु भएको छ । यो कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।”

बिदेशमा रहेर भोग्नु भएको कथा बाहिर ल्याउनु पर्छ त्यो सबैको लागि प्रेरणा हुन्छ । पहिलो जेनेरेसन जो बिदेश पुग्नु भएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको निर्माण गरिएको हमालले बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठले बोल्ने क्रममा भने बिदेशमा गएर सफल हुनु भएको धेरै भेटेको छु । सफल हुनको लागि गर्नु भएको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्त्वपुर्ण हुनेछ । आजको कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कंडेल,कलाकार जितु नेपालले मन्तब्य राखेका थिए। कार्यक्रम निर्माणको लागी गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले बिसेष सहयोग गरेको छ। कार्यक्रममा ज-जसको अन्तर्वार्ता समेटिएको छ उनिहरुलाई सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया