Bisal Chautari Logo

चलचित्र ‘दान्भी’को हाल गीत र एक्सन दृश्यको छायांकन हुँदै

- १९ चैत्र २०८०, सोमबार २१:१८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १९ सोमवार।
जेठको १० गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको चलचित्रको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ ।

वुझिएअनुसार, चलचित्रमा पूजाको इन्ट्री दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन ।

चलचित्रको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो चलचित्रका निर्देशक हुन् । चलचित्रमा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो चलचित्र चर्चामा छ । यसैले, यो चलचित्रलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माणपक्ष लागिरहेको छ । यो चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया