Bisal Chautari Logo

‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज

- १८ चैत्र २०८०, आईतवार २२:५४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८० चैत्र १८ आइतवार।
शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको चलचित्रको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । चलचित्र यही चैत २३ गते रिलिज हुँदैछ ।

गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । केही समयअघि चलचित्रलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि चलचित्रको चर्चा चुलिएको थियो । चलचित्रका अभिनेता राजीव चलचित्रबाट आशावादी छन् । चलचित्रसँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मनपराउने बताए । चलचित्र निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई चलचित्र नहेर्न आग्रह समेत गरेको छ ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रको निर्मातामा छन् ।

चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने चलचित्र काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । चलचित्रका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।

प्रतिक्रिया