Bisal Chautari Logo

‘झिल्के एन्ड द कम्पनी’को आफ्नो एलबम ‘जवानीको जोश’ सार्वजनिक

- १७ चैत्र २०८०, शनिबार २१:५८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १७ शनिवार।
नेपाली रक व्याण्ड ‘झिल्के एन्ड द कम्पनी’ले आफ्नो एलबम ‘जवानीको जोश’ को गीत ‘१८२’ सार्वजनिक गरेको छ । यो भिडियो ‘झिल्के फायर इपी’ बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको यो दोस्रो प्रस्तुति हो ।

यो गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ । डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको छ ।

‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ । त्यहीकारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथाहरु चित्रण गर्ने उद्देश्य राखेका छौं’, ब्यान्डका गायक तथा गिटारवादक स्टिभ देवानले भने ।

भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान राना मगर र प्रसिद्धी ओली फिचर्ड छन् । भिडियोमा रिदम राईको डीओपी, आविस्कार जोशीको सहायक डीओपी, गौरव विस्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ ।

गीत ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियो झापाको बिर्तामोड र अर्जुनधारा वरपरका चियाबगान र खेतबारीमा छायांकन गरिएको छ ।

भिडियो पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले निर्माण गरेको छ । पीभीई नेटवर्क व्यान्डको व्यवस्थापन कम्पनी हो । गीतको भिडियो झिल्के एण्ड द कम्पनीबाट सार्वजनिक गरिएको हो ।

ब्यान्डका बास गिटारवादक विशाल ह्याङ राईले छायांकन प्रक्रियाप्रतिको आफ्नो लगाव र यी स्थानहरूमा पुनः भ्रमण गर्ने इच्छा व्यक्त गरे । ड्रमर डिप्सन केसीले अन्तिम नतिजाप्रति आफ्नो सन्तुष्टिलाई जोड दिँदै, गीतको मधुर र तीव्र क्षणहरूलाई सन्तुलनमा राख्न भिडियोको लागि ठुलो चुनौती भएको स्वीकारे ।

प्रतिक्रिया