Bisal Chautari Logo

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक

- १७ चैत्र २०८०, शनिबार २१:४० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८० चैत्र १७ शनिवार।
 अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको फस्टलुकमा अभिनेता अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।

अनमोलका यसअघिका लभ स्टोरी चलचित्रको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । चलचित्रको फस्टलुक हेर्दा चलचित्रले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

चलचित्र ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको साथमा अभिनेत्रि जसिता गुरुङको मुख्य भूमिका छ । साथमा चलचित्रमा रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको यो चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

चलचित्र ‘फर्की फर्की’लाई लिएर अभिनेता अनमोल केसी निकै उत्साहित छन् । यो चलचित्रको कथावस्तु आफूले यसअघि काम गरेका चलचित्रको भन्दा फरक रहेको भन्दै अनमोलले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया