विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन २ बुधवार। मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो ।
राष्ट्रिय भावनामा आधारित चलचित्रको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु चलचित्रमा पेश गरिएको छ ।
यस अघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको यो चलचित्रलाई चलचित्र विकास बोर्डले विशेष चलचित्रको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले काँडेतारको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकहरूलाई चलचित्र नदेखाउन निर्देशन नै दिएको बताए ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार खड्काले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारत विरोधी चलचित्र रहेछ नदेखाउनू भन्ने आदेश दिएर शो रोक्न लगाएको आरोप लगाए । उनले सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरूले यो चलचित्रको प्रदर्शन रोक्न खाज्दा कानुन आकर्षित हुन्छ की हुँदैन ? भन्दै प्रश्न गरे । यस चलचित्रमा चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा चल्न दिनुपर्ने बताए ।
यस्तै, अभिनेता खड्काले काँडेतारसँग अन्य फिल्म जुधाइरहँदा विकास बोर्ड किन मौन रहेको भन्दै प्रश्न गरे ।
राष्ट्रवादी, चेतनामूलक एवम् ऐतिहासिक विषयवस्तुका चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रूपमा लिइएको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
प्रतिक्रिया