Bisal Chautari Logo

‘हात्तीछाप’बारे दर्शक प्रतिक्रिया–‘गज्जब छ, अब सिक्वेल चाडै आओस्’

- २८ माघ २०८०, आईतवार २२:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ २८ आइतवार।
हिजो शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास व्यक्त गरे ।
शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा चलचित्र हेर्न पुगेका दर्शकले चलचित्र ‘गज्जब’ रहेको बताए । चलचित्रले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
चलचित्र हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । चलचित्रको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाडै नै तयार हुने आशा उनीहरुको थियो ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।
हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’
यस्तै, उनले चलचित्रले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि चलचित्रले पूर्ण रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ । 

प्रतिक्रिया