Bisal Chautari Logo

संसारकै प्रतिष्ठित ‘बाफ्टा अवार्ड’मा नेपाली फिल्म ‘गोर्खा वारियर’को ‘इन्ट्री’, लिड एक्टरमा रितेश

- २६ मंसिर २०८०, मंगलवार ०२:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं २०८० मंसिर २६ मंगलवार ।
नेपाली फिल्म ‘गोर्खा वारियर’ले एकपछि अर्को इतिहास रचिरहेको समयमा संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा नेपाली चलचित्रले पहिलो चोटि ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ’इन्ट्री’ पाएको हो ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल फिल्मले पुनः नयाँ इतिहास बनाएको हो । यो फिल्म पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ । अर्थात् नेपाली भाषाको फिल्मले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो । निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो विषय र कलाकार विश्वका ठुला फिल्मसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो । हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याईरहेको छ’,निर्देशक चाम्सले भने ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो फिल्म नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् । यही कारण बाफ्टामा फिल्मले प्रवेश पाएको हो । निर्देशक चाम्सले बेलायतमा रहेको लन्डन सिनेआई प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाईएको बताए । ‘हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो । हामीले हाम्रो फिल्मको स्तरीयता र विषयलाई त्यहाँ पुर्याएका छौं । आउँदो समयमा नेपाली फिल्मलाई हेर्ने शैलीमा बाफ्टामा भिन्नता हुनेछ’ ,निर्देशक चाम्सले भने ।

गोर्खा वारियरले हलिउडका प्रसिद्ध फिल्महरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता चलचित्रसँग प्रतिष्पर्धा गरिरहेको छ । फिल्मका अभिनेता रितेश चाम्ससँगै उल्लेखित फिल्मका अभिनेता प्रतिष्पर्धामा छन् । यो नेपाली फिल्मको लागि गौरवको विषय हो । गोर्खालीले रचेको इतिहास र विषयको महत्वलाई बुझेर फिल्म तयार भएकाले पछिल्लो समय बाफ्टामा नेपाली चलचित्रले विश्व प्रसिद्ध फिल्मकर्मीको ध्यान तानेको छ ।

गतवर्ष बाफ्टामा ‘आरआरआर’ र ‘गंगुवाई कठियावाडी’ जस्ता फिल्म पहिलोचरणका लागि छनौट हुँदा भारतीय मिडियामा निकै चर्चा भएको थियो । जबकि उल्लेखित फिल्मले दोस्रो चरणमा प्रवेश नै पाएनन् । सोही कारण पनि बाफ्टामा लङलिस्टका लागि चयन हुनु निकै गौरवको विषय मानिन्छ । अभिनेता रितेश चाम्सले पहिलो फिल्ममार्फत नै यस किसिमको चर्चा पाउनु सपना झैँ महसुश भएको बताए । उनले भने,‘हाम्रो फिल्मले पाइरहेको सम्मान र बनाईरहेको इतिहास मेरा लागि सोच भन्दा निकै माथि छ । अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरलाई दिइएको स्थानले हाम्रो गोर्खाली प्रतिको सम्मान झल्काउँछ । विशेषत डेब्यु फिल्ममै मिलन चाम्स जस्तो राष्ट्रिय पुरस्कार विजेता निर्देशकसँग काम गर्न पाए । उहाँकै कारण यो सफलता सम्भव भईरहेको छ ।’

उनले डेब्यु फिल्ममा अन्तर्राष्ट्रिय मिडिया पाइरहेको चर्चा सायदै नयाँ कलाकारले बनाउन सक्छन् । त्यसैले पनि उनले आफ्नो अभिनयको श्रेय निर्देशक चाम्सलाई दिएका छन् । किनकि निर्देशक चाम्स आफैँ पूर्व गोर्खा सैनिक भएकाले फिल्मलाई तयार गर्न सकेका थिए । विदेशी फिल्म उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले फिल्मलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

हलिउड र बलिउडका ठूला स्टारको फिल्म प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली फिल्मको पहिलोपटक प्रिमियर भएको हो । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

प्रतिक्रिया