Bisal Chautari Logo

दीपेन्द्र लामाको चलचित्र ‘दुःखी आत्मा’मा अभिनेता  दयाहाङ

- १७ मंसिर २०८०, आईतवार १७:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० मंसिर १७ आइतवार।
लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको आगामी चलचित्रको शीर्षक ‘दुःखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई छन् ।

पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको यो फिल्ममा दीपेन्द्र र दयाहाङको चौथो सहकार्य हो । यी दुईले सँगै काम गरेको फिल्म ‘नांगो गाउँ’ हालै प्रदर्शनमा आएको थियो । घामपानी र दुई नम्बरीमा पनि उनीहरुले सहकार्य गरे ।

निर्माता कडरियाले निर्देशक लामाकै लेखन र निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ २’ गरी दुई चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर चलचित्र नाम ‘दुःखी आत्मा’ तय गरिएको हो ।

२०८० सालको अन्त्यबाट छायांकन गर्ने जनाइएको यो फिल्मको कास्टिङ र प्राविधिकको चयन बाँकी छ । काठमाडौंमै खिचिने फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा आधारित हुने निर्देशक लामाले जनाएका छन् ।

निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैटौं चलचित्र हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

अधिकांश प्राविधिक टोली ‘नाङ्गो गाउँ’कै रहने यो फिल्मको वितरण पनि आरआर फिल्म्सले गर्दैछ । चलचित्रको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनिक गरिने निर्माता कडरियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया