Bisal Chautari Logo

खोटाङमा वर्षादले अबरुद्ध सकड मर्मत कार्य शुरु

- १२ असार २०७१, बिहीबार ०५:४४ मा प्रकाशित


khotang road
भिम राई / विशाल चौतारी सम्वाददाता
खोटाङ, २०७१, असार १२, विहिवार । वर्षादको पानीले अवरुद्ध बनेको दिक्तेल–वात्तल सकड खण्डको मर्मत कार्य शुरु गरिएको छ । वर्षदको समयमा यातायातका सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालिएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी लगायतको संयुक्त टोलीले अवरुद्ध सकडमा सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालेको खोटाङ यातायात व्यवसायी संघले जनाएको छ । khotang road (1)
वर्षाद शुरु भएसागै अवरुद्ध बन्ने दिक्तेल–हलेसी सकड खण्ड अन्तरगत पर्ने दिक्तेलको रत्नपार्कदेखि वात्तलसम्मको सडक मर्मतका लागि जबरजङ्ग गण मुडे ब्यारेकका एक सय ५० जना, सशस्त्र प्रहरी बल हलेसी गुल्मका ४५ जना, जिल्ला प्रहरी कार्यालय खोटाङका १२ जना र खोटाङ यातायात व्यवसायी संघका प्रतिनिधि लगायत करिब पााच सय जना खटिएका छन् । हालसम्म कच्ची रहेको उक्त सडक वर्षादको पानीले हिलाम्मे र खाल्डाखुल्डी बनेपछि बाह्रै महिना यातायातका सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिएका छन् । प्रजिअ सापकोटाका अनुसार ‘सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर बाह्रै महिना यातायातका सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालिएको हो । अवरुद्ध सडक मर्मतका लागि आर्थिक श्रोत नभएकाले यातायात व्यवसायीसँगै नेपाली सेना र दुवै प्रहरीको टोली खटाइएको छ ।’
अवरुद्ध सडक मर्मत गराउन प्रमुख जिल्ला अधिकारी सापकोटा सहित स्थानीय विकास अधिकारी युवराज अधिकारी, गणपति रामबहादुर थापा, प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साह, सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम कोईराला, यातायात व्यवसायी संघका पदाधिकारी लगायत सहभागी भएका छन् ।
बुधबारदेखि शुरु भएको अवरुद्ध सकड मर्मत कार्य दुई/तीन दिनमै सञ्चालनमा ल्याइने प्रजिअ सापकोटाले जानकारी जनाए । सबैको सहभागितामा चाँडोभन्दा चाँडो अवरुद्ध सडक सञ्चालनमा ल्याइने पनि प्रजिअको भनाई छ ।
वर्षाद शुरु हुनासाथ अवरुद्ध बन्ने मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने यस सडक खण्डमा सदरमुकाम दिक्तेलदेखि तराई तथा राजधानीसम्म जोडिएको एक मात्र सडक हो । उक्त सडक अवरुद्ध बन्दा जिल्ला भित्रने यात्रु तथा मालवाहक सवारी साधन अवरुद्ध हुन पुगेको छ ।सालैपिच्छे अवरुद्ध बन्ने दिक्तेल–हलेसी सडक कालोपत्रेका लागि प्रक्रिया समेत अघि बढीसकेको छ ।

प्रतिक्रिया