Bisal Chautari Logo

एनआरएनए महिला उपाध्यक्षमा युकेबाट रोजिना प्रधान राईको प्रतिवद्धता सहित उम्मेदवारी

- २१ आश्विन २०८०, आईतवार ०१:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
लण्डन, २०८० असोज २१ आइतवार ।
बेलायतकी महिला अभियन्ता, समाजसेवी तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी उनले अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको जानकारी गराएकी छन ।

केहि दिन अगाडी एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पूर्ण साथ दिने आशा रोजिनाको रहेको छ । विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुंदैछ । आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन ।

संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा उनको रहेको छ । उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन । एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन । एनआरएनए आइसिसि भोकेशनल एजुकेशन कमिटी यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष रहेकी रोजिनाले २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा एनआरएनए अभियानमा चुलिएको छ ।

च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताईन ।
आफुले बेलायतका विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगाल्ने अवसर पाएको उनले बताईन । मेरो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिन इच्छुक र दृढ रहेकोले नै आफूले महिला उपाध्यक्षमा उम्मेदवारी दिएको राईले बताईन ।

एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन। रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् । रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कैयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन् । खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान लगायत कार्य गरेकी थिइन् । राईको सहयोगमा सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

महिला उपाध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राई प्रेष बिज्ञप्ती जस्ताको तस्तै:

मेरो उम्मेदवारीबारे विशेष जानकारीः

आदरणीय समस्त गैर आवासीय नेपालीहरुमा हार्दिक नमन

विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर निर्वाचन १७–२० सम्म काठमाडौंमा हुने तयारी भइरहेकोबारे यहांहरु अवगत नै हुनुहुन्छ। यसपटक केन्द्रिय नेतृत्वका लागि म आकांक्षी भएको कुरा मैले विभिन्न माध्यमबाट सूचित गराइसकेको छु ।

यसै सिलसिलामा यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने मेरो पूर्व घोषणामा परिवर्तन गरि अब म एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिन चाहन्छु ।

एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुं । अग्रजहरु र टिमको सुझाव सल्लाह मैले अनुशरण नगर्ने कुरै भएन ।

मलाई आशा छ, सम्पूर्ण डेलिगेट्सज्यूहरुले मेरो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिनु हुनेछ ।

मैले आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको छु । संघमा प्रजातान्त्रिक परिपाटीको अवलम्बन गर्दै महिलाहरुको सम्मानका साथ समान हक अधिकार र सम्मानित ब्यवहार अपरिहार्य हुने मेरो बुझाइ छ । हरेक क्षेत्रमा महिला उपस्थिति गराउने मेरो प्रण छ । साथै,

संसारभर रहेका माहिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण पनि यहाँहरु समक्ष गर्न चाहन्छु ।

विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न वाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु हाम्रो दायित्व छ । साथै उहांहरुलाई सक्षम बनाउन पनि हामी प्रवासमा रहेको नेपालीहरुको प्रमुख अभिभारा हो भन्ने मैले सम्झेको छु । यी कामका लागि मलाई नेतृत्वमा आउन यहांहरुको साथ समर्थन चाहिन्छ जुन यहांहरुबाट अपेक्षा राखेको छु ।

तर, महिलाहरुको हक अधिकार, सम्मानजनक सहभागिताका लागि पुरुषहरुको विरोध होइन, सहकार्य र समझदारीको भूमिका महत्वपूर्ण हुने भएकाले एनआरएनएलाई गौरवान्वित संस्था बनाउन मैले भूमिका निर्वाह गर्ने वाचा गर्दछु । व्यक्ति होइन विधि प्रधान हो भन्ने मेरो प्राथमिकता छ । सहयोगको अपेक्षासहित ।

धन्यवाद

रोजिना प्रधान राई

उम्मेदवार

एनआरएनए उपाध्यक्ष (महिला)

प्रतिक्रिया