Bisal Chautari Logo

निर्माताका रुपमा चलचित्र ‘मायावी’मा जोडिए निर्देशक चन्द्र पन्त

- ६ आश्विन २०८०, शनिबार १७:५४ मा प्रकाशित



विशाल चौतारी समाचार
काठमाडौं,
  २०८० असोज ६ शनिवार ।
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’मा एक्सन तथा चलचित्र  निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।

अभिनेता राज कटुवाल पनि यस फिल्मको निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले चलचित्र  ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।

झण्डै दुई दर्जन बढी फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका चन्द्रले भोजपुरी चलचित्र  ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली फिल्म ‘माही’ हो भने हाल छायांकन चरणमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन हेर्न सकिन्छ ।

यतिबेला यस चलचित्रको छायाकंन गर्ने तयारी गर्दै निर्माण टिम र कलाकारहरु छायाकंन स्थल मुस्ताङ पुगेका छन् । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक भइरहेको छ ।

प्रेमकथा रहने यस चलचित्रका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्, भने अर्की मुख्य अभिनेत्रीका रुपमा करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि चलचित्रमा अभिनय नगरेर लामो समयपछि ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन् । यस्तै, यसै चलचित्रको एक मुख्य पात्रको रुपमा केही दिन अघि अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिका बारे निर्माण टिमले कुनै जानकारी खुलाएको छैन ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।

चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो चलचित्रको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

प्रतिक्रिया