Bisal Chautari Logo

टोरन्टोपछि बुसान फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ छनौट

- १९ भाद्र २०८०, मंगलवार २२:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र, १९ मंगलवार ।
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनौट भएको छ । बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको उल्लेख गरेको छ ।

नेपाली समयानुसार बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा रहेको यो फिल्मले अर्को उपलब्धि हासिल गरेको हो । टोरन्टो उड्ने तयारीमा रहेका निर्माता आमोद राईले बुसान छनोटलाई नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको महत्वपूर्ण कोसेढुंगा भएको बताए ।बुसानले फिल्मको प्रदर्शन मिति भने उल्लेख गरेको छैन । यद्यपि, सातदेखि १३ अक्टोबरभित्र फिल्मको एसिया प्रिमियर हुने निर्माता राईले जानकारी दिए । बुसानमा कलाकार, निर्माता र निर्देशक सबै जना उपस्थित हुने तयारी रहेको पनि उनले बताए ।

फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई लगायतको अभिनय छ । भोजपुर, संखुवासभा र धरानमा फिल्मको छायांकन गरिएको हो । यसैबीच, नीरञ्जनराज भेटवाल निर्देशित नेपाली छोटो फिल्म ‘साक्षी रुख : द विटनेस ट्री’ पनि एसियाली छोटो सिनेमाको विधामा छानिएको छ ।

प्रतिक्रिया