Bisal Chautari Logo

सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को केही दृश्य समेटिएको म्युजिक भिडियो ‘माया’ सार्वजनिक

- ७ भाद्र २०८०, बिहीबार २०:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र, ७ बिहिवार ।
आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । निर्माण कम्पनि रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गर्नुभएता पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।

‘हामीले चलचित्र पुरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।
सारुककि आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन्,‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दाममा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ।’
उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।
कलाकार संघका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनु पर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । उनले भने,‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’
अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित निवासमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया