Bisal Chautari Logo

‘घर ज्वाइँ’ फिल्ममा दयाहाङ र मिरुनाको जोडी

- ३० श्रावण २०८०, मंगलवार १५:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० श्रावन, ३० मंगलवार ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अहिले नेपाली चलचित्र क्षेत्रको हिट जोडीको रुपमा रहेका छन् । यि दुई जोडीले काम गरेको सिनेमाले बक्सअफिसमा तहल्का मच्चाएको छ । ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि यो जोडीलाई फिल्ममा लिनका लागी निर्माता, निर्देशकहरुको तछाड मछाड छ । फिल्म ‘नाङ्गो गाउँ’मा काम गरिसकेका दयाहाङ र मिरुनाको जोडी भदौबाट फिल्म ‘रंङ्गेली ग्याङस्टार’मा काम गर्दैछन् । यसै बिचमा दयाहाङ र मिरुनालाई लिएर अर्को नयाँ फिल्म बन्ने भएको छ । फिल्मको नाम हो ‘घर ज्वाइँ’ ।

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकामा एक महिना अगाडि दयाहाङ अनुबन्धित भएका थिए भने यसै हप्ता मिरुनासँग सम्झौता गरिएको छ । मगर समुदायको कथामा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई प्रमुख पात्रका रूपमा अनुबन्धित गरेको निर्देशक अनिलले बताए । मगर संस्कृतिमा बन्ने फिल्ममा मगर समुदायकै मुख्य कलाकार राख्न चाहेको भए पनि उपयुक्त पात्र नभेटिएका कारण दयाहाङलाई लिइएको उनको भनाइ छ । आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा दया र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचाको पनि अभिनय रहनेछ । निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेको फिल्मको छायांकन रुकुममा हुनेछ । नामले नै फिल्मको कथावस्तुबारे बुझाउँछ । रोहित–रत्नको आरआर फिल्म्सले फिल्मलाई देशभर वितरण गर्नेछ ।

प्रतिक्रिया