Bisal Chautari Logo

फिल्म ‘कार्साङ’मा छिरिङ शेर्पाको डेब्यु, सुपरस्टार दयाहाङसंगै डेब्यु गर्न चाहान्थिन्

- ७ श्रावण २०८०, आईतवार १९:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० श्रावन, ७ आइतवार ।
फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङको यो डेब्यु सिनेमा हो । फिल्म ‘कार्साङ’मा उनले सुपरस्टार अभिनेता दयाहाङ राईसँग अनस्क्रिन रोमान्स गर्ने पक्का भएकी छिन् । केही हप्ता अगाडी छिरिङले विशाल चौतारीसंगको अन्तर्वार्तामा दयाहाङसंग फिल्ममा डेब्यु गर्ने चाहना रहेको बताएकी थिइन् ।

छिरिङले यस अघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् ।

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ । फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया