Bisal Chautari Logo

“पहिचान नखुलेको एउटा लास” ( कविता )

- १७ असार २०८०, आईतवार १९:४५ मा प्रकाशित


हेर्दा कुनै
छलकपट नभएजस्ताे
देख्दा कुनै
महत्वकांक्षी तृष्णा नभएजस्ताे

काे हाे ऊ ?
कुन दुखी हाे ऊ ?

एकाबिहानै
याे सहरकाे कतैतिर
किन गर्याे उसले आत्महत्या ?

या कसले गर्याे उसकाे हत्या?

आफ्नै देशमा
अनागरिक हुनुकाे पिडाले निस्सासिएर
नागरिकता खाेज्दै राजधानी आइपुगेकाे
कुनै देहातकाे थारु थियोे कि ?

पसिनाकाे माेल खाेज्न
शासकको निवास अगाडि
धर्ना बस्न आइपुगेको
कुनै मजदुुर/किसान मुसहर ?

काे थियो ऊ ?
कुन दुखी थियोे ऊ ?

हेर्दा कुनै
छलकपट नभएजस्ताे
देख्दा कुनै
महत्वकांक्षी तृष्णा नभएजस्ताे

पहिचानकाे
आन्दाेलनमा आन्दाेलनरत
पुलिसकाे लाठी चार्जबाट
सख्त घाइते
कुनै आदिवासी थियोे कि ?

ठग म्यानपावरकाे
फन्दामा परेर साहुकाे पीरले
गाउँ फर्किन नसकेको
कुनै बेराेजगार युवा थियोे कि ?

वा थिइन्
याे सहरले हररात बैँस लुटिरहेकाे
कुनै परम पवित्र आम्रपाली ?

काे थियोे ऊ
कुन दुखी थिइन् ऊ?

हेर्दा कुनै
छलकपट नभएजस्ताे
देख्दा कुनै
महत्वकांक्षी तृष्णा नभएजस्ताे

एकाबिहानै
याे सहरकाे कतैतिर
किन गर्याे उसले आत्महत्या ?

या कसले गर्याे उनकाे हत्या?

-उत्तम तुम्सा लिम्बू

प्रतिक्रिया