Bisal Chautari Logo

रामबाबुले निर्माण गर्ने ‘राजागन्ज’लाई दिपकले निर्देशन गर्ने, दयाहाङसंगै निकिता प्रमुख भूमिकामा

- १७ असार २०८०, आईतवार १६:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, १७ आइतवार ।
सन् २०१७ की मिस नेपाल निकिता चान्डकले ‘साङ्लो’पछि अर्को नेपाली फिल्म गर्ने पक्का भएको छ । उनी ‘राजागन्ज’बाट पुनः फिल्ममा फर्किन लागेकी हुन् । फिल्मलाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् । रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए । यस्तै यो फिल्मलाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो । फिल्मलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् । फिल्ममा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो फिल्मलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ ।

फिल्ममा निकितासँगै दयाहाङ राई तथा आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । यसै फिल्मबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन् । ‘यो फिल्म नेपाली सिनेमाका लागि कोशेढुङ्गा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन् । त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महशुस गरिरहेको प्रतिक्रिया दिएकी छन् ।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने सिनेमाको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ । फिल्ममा निकिता, दया तथा आशाका अलावा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ ।

प्रतिक्रिया