Bisal Chautari Logo

विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को लन्डन प्रिमियरमा मेयर हर्क साम्पाङ सहभागी हुने

- ७ असार २०८०, बिहीबार १३:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, ७ बिहिवार ।
विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ ।

अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका छन् । मेयर साम्पाङले आफुलाई धरानका विभिन्न परियोजनामा बेलायतबासी नेपालीहरुले धेरै नै सहयोग गरेको कुरा सो भेटमा निर्देशक चम्सलाई बताएका छन् । सो सहयोगको लागि धन्यबाद ज्ञापन गर्नका साथै अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भव्य प्रिमियरमा आफु अतिथिको रुपमा सहभागी हुन लन्डन जाने कुरा मेयर साम्पाङले निर्देशक चाम्सलाई बताएका छन् ।

प्रिमियर शोका लागि निम्तापत्र ग्रहण गर्दै मेयर साम्पाङले गोर्खालीहरुको सान मानिएको अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरले बीर नेपालीलाई विश्वव्यापी रुपमा चिनाउने विश्वास व्यक्त गरेका छन् । उनले सो प्रिमियरमा आफुलाई निम्ता गरेकोमा धन्यबाद ज्ञापन गरेका छन् । निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया