Bisal Chautari Logo

धिरज र जसिता स्टार चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

- १ बैशाख २०८०, शुक्रबार १५:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख १, शुक्रवार ।
बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर आज सार्वजनिक भएको छ । नयाँ बर्षको अवसर पारेर बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो ।

रेनशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।
आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।
सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक रेनशा राई रानाले भनिन्–‘यो फिल्मले नेपाली समाजकै कथा भन्छ । अभाव, गरिबी, सपनाको दोसाधमा अल्झिएका यूवाहरुको कथालाई हामीले भन्ने कोशिश गरेका छौं । मलाई सधै नै चुनौती मनपर्छ । यो फिल्म पनि एउटा चुनौतीलाई स्विकार गरेको परिणाम हो ।’

नायक धिरज मगरले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ दर्शकका लागि विल्कुलै फरक स्वादको फिल्म हुने बताए । उनले, यो फिल्मका लागि आफूले ३ बर्ष दिएको र दर्शकले त्यो मिहिनेतलाई स्विकार गर्ने विश्वास व्यक्त गरे ।
नायिका जसिता गुरुङले पनि फिल्मबाट आफूलाई आशा खुबै भएको बताइन् । फिल्ममा ‘रुबी’ पात्रको भूमिकामा देखिएकी जसिताले यो फिल्मले एउटा यूवतीको सपना भन्ने बताइन् ।
फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ उच्च देखिएको छ । कथावस्तुका हिसाबले पनि फिल्म सशक्त देखिएको छ । यसैले, फिल्म हेर्दा दर्शकले नयाँ कथामा आफूलाई ढाल्ने विश्वास व्यक्त गर्न सकिन्छ ।

प्रतिक्रिया