Bisal Chautari Logo

‘बुलाकी’लाई स्पेशल स्क्रिनिङमा प्रशंसा, राम्रो शोज नपाएको भन्दै निर्माताको गुनासो

- ३० चैत्र २०७९, बिहीबार १५:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत ३०, बिहिबार ।
वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बुलाकी’लाई स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित शोमा सिनेमा हेर्न पुगेका सिनेमाकर्मी र पत्रकारले ‘बुलाकी’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

सिनेमाले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले सिनेमालाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, सिनेमाले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । सिनेमा हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले सिनेमामा प्रस्तुत गरेको बताए ।

सिनेमा हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि बुलाकीलाई उत्कृष्ट बनेको बताए । अभिनेता नीता ढुंगानाले सिनेमा हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । अनि अभिनेता हरिहर अधिकारीले पनि नेपाली सिनेमामा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए ।

अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि सिनेमाले पुरा समय बाँधेर राखेको सुनाए । सिनेमामा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । सिनेमा क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।

अभिनेता सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । सिनेमा कथा वरि परी घुमेको छ । डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि सिनेमामा दर्शकलाई फरक अनुभुती गराउँछ । डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए । सिनेमा हेर्नका लागि निर्देशक नवल नेपाल कलाकार प्रशान्त ताम्राकार, हरिष निरौला (क्रकोच) लगायत पनि पुगेका थिए ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया