Bisal Chautari Logo

दयाहाङ र मिरुनाको ‘जारी’ विदेशमा उच्च माग || अमेरिका, अष्ट्रेलिया र युकेमा रिलिज पक्का

- १४ चैत्र २०७९, मंगलवार १९:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १४, मंगलबार ।
आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सोसल ड्रामा सिनेमा ‘जारी’को अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउँदैछ । निर्माण कम्पनी बाँसुरी फिल्म्सका अनुसार सिनेमाको अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने पक्का भैसकेको छ ।

नेपाली सिनेमाको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि भएको निर्माता रामबाबु गुरुङले बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता सिनेमा रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने पक्का भैसकेको छ ।

निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत सिनेमाले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । ‘जारी’ प्रदर्शन अगावै निर्मातालाई नाफामा लैजाने सिनेमा बनेको छ ।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथी सिनेमा निर्माण भएको छ । गत साता रिलिज भएको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सिनेमाको विदेश व्यापारमा फाइदा मिलेको निर्माण टिमको बुझाई छ ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ । सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया