Bisal Chautari Logo

‘ज्याकीः आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक, धिरज र जसिताको नृत्यको तारिफ

- ३ चैत्र २०७९, शुक्रबार १९:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत ३, शुक्रबार ।
बैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कथा’ बोलको गीत आईप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ । भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो ।

सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मिहिनेत संझदा खुशी लाग्ने बताइन् । निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, फिल्मको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।

प्रतिक्रिया