Bisal Chautari Logo

वरिष्ठ निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन

- २ चैत्र २०७९, बिहीबार २२:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत २, बिहिबार ।
‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् । २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

४० को दशकमा नेपाल आएका उनले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए । अघिल्लो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा उपस्थित भएर उनले आफ्ना कुरा सुनाएका थिए । त्यतिबेला बोल्दै उनले ‘कहीं अँध्यारो कहीं उज्यालो’ फिल्मलाई कम्युनिस्ट फिल्म भनेर चल्न नदिएको स्मरण गरेका थिए । उक्त फिल्ममा धनी र गरिबबीचको विभेदलाई प्रस्तुत गरिएको भन्दै उनले सो फिल्मलाई कम्युनिस्टको ट्याग लागेको बताएका थिए ।

२०५० सालमा उनले फिल्म ‘चट्याङ’को पटकथा लेखे । ‘भीष्म प्रतिज्ञा’पछि उनी दार्जिलिङ फर्किए । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर प्राविधिक जन्माए । क्यामेरा एडिटिङ सिकाए । कोरोना महामारीको बेला उनले नयाँ पुस्ताका फिल्ममेकरलाई एउटा सुझाव दिएका थिए, ‘यो समयमा ट्रेनिङ लिऊँ । स्क्रिप्ट लेखुँ, गीत लेखुँ । अहिलेको सबै कुरा खुलेपछि काम लाग्छ नि ।’ सुब्बाको निधनको खबरलगत्तै सामाजिक सञ्जालबाट धेरैले उनीप्रति श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया