विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन ११, बिहिबार । गायन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–२ को प्रसारण यही फागुन २६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।
सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि भ्वाइस किड्स सिजन २ को कोचका रुपमा रहेका छन् ।
यो सिजनमा पनि भोटिङ पार्टनरको रुपमा खल्ती वालेट अनुवन्ध भएको छ भने मार्केटिङ पार्टनरका रुपमा एडप्याड रहेको छ । हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ स्टार नेपाल, हिमालय रोडिज लगायतको प्रसारण गरिसकेको छ भने बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया