Bisal Chautari Logo

प्रदीप खड्काको जोडी बन्दै नीति शाह ‘कामिनो’मा भित्रिइन्

- ३ फाल्गुन २०७९, बुधबार १९:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन ३, बुधबार ।
अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेको फिल्म ‘कामिनो’मा मोडल नीति शाह पनि भित्रिएकी छन् । बुधबार चलचित्रको निर्माण टिमले नीतिसँग कागजी सम्झौता गरेको हो । फिल्ममा नीतिको जोडी प्रदीपसँग बाँधिने भएको छ । यसअघि नीतिले प्रदीपसंग विज्ञापनमा एकसाथ काम गरेका थिए ।

निर्देशक दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् । अन्तत फिल्ममा स्टारकास्ट बलियो देखिएको छ । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ ।

फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा÷संवाद महेश दवाडीले लेखेका हुन् । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।

प्रतिक्रिया