Bisal Chautari Logo

‘प्रसाद २’को छायांकन ३१ दिनमा सकियो

- २ माघ २०७९, सोमबार २३:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ २, सोमबार ।
यो वर्षकै प्रतिक्षित चलचित्र ‘प्रसाद २’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३१ दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् ।

यो चलचित्रमा नायक विपिन कार्की र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । उत्तम न्यौपानेको ध्वनी रहेको चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

यसैबिच, चलचित्रको इन्डक्ल्याप भएकै दिन यसको निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्रलाई वि.सं २०८० सालको बैशाख १ गतेबाट रिलिज गर्ने पक्का गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

थापाले भने–‘चलचित्र ‘प्रसाद’लाई दर्शकले अपार माया दिनुभएको छ । यस्तै, माया ‘प्रसाद २’ बाट पनि पाउनेमा विश्वस्त छौं । दर्शकका लागि नयाँ बर्ष ‘प्रसाद २’ ले विशेष बनाउनेमा आशावादी छौं ।’ सिंगो टिमको मिहिनेतका कारण ३१ दिनमै चलचित्रको छायांकन पुरा गर्न संभव भएको थापाले बताए । 

प्रतिक्रिया