Bisal Chautari Logo

टेक्ससको ६३ सय दर्शक अट्ने हलमा ११ औं ‘नेफ्टा अवार्ड’ भव्य गर्ने आयोजकको प्रतिबद्धता

- २२ मंसिर २०७९, बिहीबार २१:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ मंसिर २२ बिहिबार ।
नेपाली फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ । आज डिजिटल पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड आयोजकले औपचारिक रुपमा मे २७ मा अमेरिकाको टेक्ससमा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको छ ।

यसअघि नेपालसँगै मलेसिया, कतार, हङकङ र दुबईमा आयोजना भएको प्रतिष्ठित फिल्म अवार्डलाई यसपटक अमेरिकामा पुर्याउन पाउँदा खुशी लागेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले डिजिटल पत्रकार सम्मेलनमा बताए । उनले भने–‘कोरोना महामारीपछि नेपाली फिल्मको बजार अझै विस्तार भएको छ । अमेरिकालाई नेपाली फिल्मसँग जोडेर हेर्न सकेको खण्डमा नेपाली फिल्म क्षेत्रले अझै फाइदा लिनेछ भन्नेमा विश्वस्तु छौं ।’

४२ विधामा वितरण गरिने अवार्डलाई भव्य, सव्य र थुप्रै सरप्राइजका साथ आयोजना गरिने फेम नेपालका संचालक विमल कुमार पछाईले जानकारी दिए । उनले, अवार्डमा हलिउड र बलिउडका प्रतिनिधीहरुलाई समेत सहभागी गराउने कोशिश भैरहेको बताए । यो अवार्ड ६३ सय दर्शक अट्ने क्षमता भएको टेक्सस ट्रष्ट सियू थिएटरमा आयोजना हुँदैछ । भर्चुअल पत्रकार सम्मेलनमा आयोजकले अवार्ड हुने हलको भिडियो समेत सार्वजनिक गरेको थियो । कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित नायक राजेश हमालले शुभकामना दिदै अवार्ड आयोजना चुनौतीपूर्ण भएपनि आयोजक सफल हुनेमा विश्वास व्यक्त गरे ।

यस्तै, अवार्ड आयोजक संस्था यूएस खबरका प्रधान सम्पादक किशन रेग्मीले पनि नेपाली फिल्म र फिल्मीकर्मीलाई कमजोर आँकलन गर्नेहरुलाई यो अवार्डले राम्रो जवाफ दिने बताए । अवार्डमा नेपाली फिल्म क्षेत्रका चर्चित अनुहारहरु राजेश हमाल, भूवन केसी, निर शाह, सौगात मल्ल, पूजा शर्मा, प्रदीप खड्का, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, पुष्प खड्का, वर्षा राउत लगायतका ३ दर्जन बढी कलाकार सहभागी हुने आयोजकले बताएको छ । यो अवार्डलाई अमेरिकामा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया, आर्यन फिल्मस् र नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले संयुक्त आयोजकको रुपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया