विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कार्तिक, ८ मंगलबार । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ ले निरन्तर दर्शक तानिरहेको छ । प्रदर्शनको पहिलो हप्ता देशभरका हल हाउसफुल हुने संकेत देखिएको छ । आज चौथो दिन पनि अधिकांश हलको अक्कुपेन्सी राम्रो छ ।
प्रदर्शन भएको पहिलो दिन देखिनै दर्शकको राम्रो साथ पाएको यो चलचित्र बलियो माउथ पव्लिसिटी, विपीन कार्की, दयाहाङ राई, सुरक्षा पन्त बर्षा रावत तजस्ता पपुलर स्टारकास्ट कारण पनि दर्शकको रोजाइमा परेको हो । त्यस्तै, यो चलचित्रलाई तिहारको बिदाले पनि राम्रो साथ दिएको छ ।
निर्देशक दीपेन्द्र के खनालले देशभरका हलमा उल्लेख्य दर्शकको भिडले आफुहरु निकै खुसी भएको प्रतिक्रिया दिए । दीपेन्द्रले भने, ‘सिनेमा हेरेर दर्शक रमाइरहेका छन् । बिदाको समय, दर्शकको रोजाइका कलाकार तथा चलचित्रको कथाका कारण चलचित्र हेर्ने दर्शक हलमा बढिरहेका छन् । यसले हामीलाई थप हौसला मिलेको छ ।’ उनका अनुसार दर्शकका लागि मसलेदार चलचित्र पनी आवश्यक पर्छ, त्यो चलचित्र के घर के डेराले पुरा गरिदिएको फिल भएको छ ।
चलचित्रका अभिनेता विपिन कार्कीले वर्ड अफ माउथका कारण चलचित्र सफल भएको बताए । उनले भने, ‘हलमा दर्शक रमाइलो गर्न जान्छन् । यो चलचित्रले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामथ्र्य राखेको छ । सोहि कारण दर्शकको साथ मिलेको छ ।’
प्रदर्शन भएको पहिलो दिनदेखिनै कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगिरहेका छन् । दर्शकबाट राम्रो रेस्पोन्स पाएपछि कलाकारहरु खुशी छन् । आज क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआईलगायत मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी बलियो देखिएको छ । त्यस्तै देशभरका सिंगल स्क्रिनमा पनि दर्शकको उल्लेख्य उपस्थिती देखिएको छ ।
विकडेजको पहिलो दिन सोमबारदेखि तिहार बिदा एकसातासम्म भएकोले चलचित्रलाई प्रत्यक्ष फाइदा पुगेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
चलचित्र के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
प्रतिक्रिया