Bisal Chautari Logo

आर्यन, सुफिया र कवितालाई लिएर ‘सायरा’को घोषणा

- २९ भाद्र २०७९, बुधबार १३:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र २९ बुधबार ।
नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । गत मंगलवार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’ मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए ।

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाइ निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ’ उनले बताए । फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिनु भएको भन्दै पुस्कर र विशाललाई धन्यवाद दिए ।

‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटी मार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरि बन्छ सँगै कसरि प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु’ आर्यनले भने ।

डान्सीङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन । ‘म राम्रो डेब्युको खोजिमा थिएँ । भने झैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए ।

कार्यक्रममा उपस्थित हुन् नपाउदा दुखि रहेको भिडियो संदेश सुफिया सिद्दिकीले पठाउनु भयो । उहाँले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताउनु भयो । ‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो संदेश मार्फत बताउनु भयो ।

फिल्म ‘सायरा’ लाई शुभकामना दिन चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला , भारतीय उद्योगपति भावर सिंह प्लाडा , इन्द्रेश राय , कलाकार अर्चना शर्मा लगायत भारतबाट नेपाल आउनु भएको थियो ।

प्रतिक्रिया