Bisal Chautari Logo

‘सम्हालिन्छ कहिले मन’ को शीर्ष गीत सार्वजनिक : पूजा, आकाश र सोनमको संवादसंगै त्रिकोणात्मक प्रेम

- ६ भाद्र २०७९, सोमबार २१:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र ६ सोमबार ।
भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टाइटल गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि–रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सुगमकै आवाज र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा सौरभ लामाले खिचेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव–अभिनेता सोनम तोप्देन फिचर छन् । यूकेको मनोरम दृश्यलाई पृष्ठभूमिमा सजाएर खिचिएको गीतमा संवाद संगै उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । आकाश र सोनम मध्ये पूजा कसकी हुन्छिन् भन्ने कौतुहलता गीतको भिडियोले देखाएको छ ।

चलचित्रमा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह–निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । निर्देशक थापाले नेपाली फिल्ममा अहिलेसम्मकै उच्च मेकिङ ‘सम्हालिन्छ कहिले मन’मा हेर्न पाइने बताएका छन् ।

प्रतिक्रिया