विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १ बुधबार । भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज भएको छ । यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ जोडी फिचर्ड छन् । यस गीतको यूकेको एक सिनमा बिदेशीको शिरमा ढाका टोपी देख्न सकिन्छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ’हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो ।
ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य र पूजा–आकाशको केमेस्ट्री म्याच गर्छ । स्कटल्याण्डका केहि चुचुरोहरुलाई छायांकार सौरभ लामाले ’लार्ज फ्रेम’मा सुन्दर ढंगले कैद गरेका छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
‘जरुरी कुरा छ’ हिट भएपछी अर्को रोमान्टिक गीत हराएँ हराएँ रिलिज गरेका छौँ ।’ निर्देशक सुदर्शन थापाले भने ‘गीत संगीत उत्कृष्ट छन् । कथाको माग अनुसार कुनैपनि कुरामा सम्झौता नगरेको सिनेमा हो यो । क्वालिटीले यसलाई बलिउडका ए ग्रेड लभस्टोरी सिनेमा भन्दा उत्कृष्ट बनाएको छ । दर्शकले नयाँ फ्लेवर पाउनु हुनेछ ।’
निर्देशक थापाका अधिकांस सिनेमामा संगीत मजबुत हुने गर्दछ । ’हराएँ हराएँ’ बोलको गीतले पनि दर्शक साथ पाउने अपेक्षा गर्न सकिन्छ । महेश दवाडीको लेखन रहेको सिनेमामा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।
एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको सिनेमामा अर्जुन पोखरेल÷ताराप्रकाश लिम्बु÷जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । चलचित्रलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।
प्रतिक्रिया