Bisal Chautari Logo

आकाश र पूजाको ‘सम्झना बिर्सना’ ९ सेक्टेम्बरमा भारतका हलमा

- १९ श्रावण २०७९, बिहीबार २३:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १९, बिहिबार ।
नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेक्टेम्बरबाट इन्डियाका दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेक्टेम्बरमा दार्जिलिङ,सिक्किम,सिल्गुडी,जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । ‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौ,’ दार्जिलिङबाट उनले भने, ‘दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टुवरमा बाँकी शहरहरुमा प्रदर्शन गर्दैछौ ।’ उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘इन्डियामा नेपाली फिल्मको मार्केट एक्दम राम्रो छ । तर हामीले सहि बजार खोज्न सकेका छैनौ ।’ उनले आफू नेपाली फिल्मको बजार बिस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’ मार्फत अघि बढेको सुनाए ।

निमेष प्रधान निर्देशीत फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ । ‘हामीले प्रारम्भीक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ,पूजा शर्मा,सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ ।

प्रतिक्रिया