Bisal Chautari Logo

दुई वर्षपछि मिस लिटिल आइडल २०२२ को खोजी

- २ श्रावण २०७९, सोमबार २३:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २, सोमबार ।
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले मिस लिटिल आइडल २०२२ को खोजी सुरु गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन आयोजना हुँदै आएको यो प्रतियोगिता कोरोना महामारीका कारण दुईवर्ष रोकिएको थियो ।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने जानकारी दिए । ‘बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मदत पु¥याउने छ’, अध्यक्ष राईले भने, ‘प्रतियोगिता साउन २८ गते सांस्कृतिक संस्थानमा भव्य रुपमा आयोजना हुने छ ।’

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिइन् । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार आवश्यक ज्ञान दिन र छात्राहरुमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भनिन्, ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ । यो समयको माग हो ।’

प्रतियोगितामा यस पटकदेखी हरेक सहभागीहरुलाई उनीहरुमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधीसहित सम्मान गरिने भएको छ । ‘सहभागी विद्यार्थीमा जे क्षमता छ, त्यसमा निख्खार ल्याउने र सोहीअनुसार प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सबैलाई सम्मान गरिने छ’, कोरियोग्राफर रोजिन शाक्यले भने, ‘यसले सहभागीहरुमा उत्साह र प्रेरणा मिल्नुका साथै भविश्यमा केही गर्नुपर्छ भन्ने भावना जागृत गराउने छ ।’

कार्यक्रमलाई सभ्य र भव्य बनाउन प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राई (दाहाल)को संयोजकत्वमा सुर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित पाँच सदस्सीय कार्यक्रम संयोजन समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरुलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ ।
२०७९ साउन ७ गतेदेखी प्रशिक्षण सुरु गरी साउन २८ गते शनिबार अन्तिम प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सन् २००९ देखी वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौं संस्करण हो ।

तस्बिरहरु : अनोज राई / विशाल चौतारी

प्रतिक्रिया