Bisal Chautari Logo

बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को आधिकारिक प्रमोशन सुरु

- १ श्रावण २०७९, आईतवार २०:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १, आइतबार ।
बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ । निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई तार्गेट गरेर प्रचार–प्रसारमा होमिएको प्रतिक्रिया दिए । हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकार सहितको भब्य ब्यानर राखिएको छ । अब काठमाडौं सहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचार प्रसारका सामाग्री राखेर प्रेम गीतमय बनाइने निर्माता तथा निर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ ।
नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो। अनिश्चित कालका लागिसरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुंदै छ । दशैंको समयमा प्रदर्शन हुन लागेको यो फिल्मले ५० बर्षे नेपाली फिल्मको इतिहासमा यसले अन्तर्राष्ट्रीय फिल्म बजारमा पहिलोपटक ढोका खोल्ने धेरैको अनुमान छ । नया प्रदर्शन मिति घोषणा भएसंगै दर्शकहरु निकै उत्साहित छन् ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।
यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन् । फिल्मको तेस्रो भाग भने अधिल्ला प्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ । स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

प्रतिक्रिया