Bisal Chautari Logo

चलचित्र ‘मीलन’को डबिङ सकियो || सलोन, कुशल र शिल्पाको त्रिकोणात्मक प्रेम

- २० असार २०७९, सोमबार २१:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २०, सोमवार ।
आगामी कात्र्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेम कथामा आधारीत चलचित्र ‘मीलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ ।
चलचित्रका मुख्य अभिनेता ‘चकलेटी लभर ब्वाय’ कुशल शाह ठकुरीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । यस्तै अभिनेत्री शिल्पा थापाको पनि यो पहिलो चलचित्र हो । शिल्पा टिकटकमा स्टार समेत हुन् । उनको टिकटक र इन्स्टाग्राममा लाखौं ‘फ्लोवर्स’ छन् ।
तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रको पोस्टप्रोडक्सनको काम क्लासिक सिनेमाले गरेको छ ।

प्रतिक्रिया