Bisal Chautari Logo

‘दोख’को ट्रेलर सार्वजनिक || दुई गाउँबीचको झगडामा फुटवल खेल निर्णायक

- १४ असार २०७९, मंगलवार १३:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १४, मंगलवार ।
असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपी, फिल्मको कथा भने सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ । सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।
माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरुबीच हुने फुट्वल खेल र फुटवल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा फिल्मको छायाँकन शुरु गरिएपनि विविध कारणले प्रदर्शनमा ढिलाई भएको बताए । भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको फिल्मको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौ नभएको बरालले बताए । ‘फिल्म हेर्दा तपाईले मिठोपन महशुस गर्नुहुनेछ भन्ने भन्न सक्छु । फिल्मको बारेमा मैले अरु धेरै बोल्नु भनेको अलि हतारो गर्नुजस्तो लाग्छ । धेरै कुराहरु फिल्मले नै बोल्नेछ’ बरालले भने । उनले फिल्म सामुदायिक वनलाई लिएर दुईवटा गाउँबीच भएको झगडाको अन्तरद्धन्द्धमा हुर्केको कथा रहेको बताए ।
बरालले अगाडि भने, – ‘यद्यपी, यसमा मल्टिपल चरित्रहरु छ । बहुचरित्रहरु भएको, एउटा ठूलो क्यानभास जस्तो, उपन्यासजस्तो मलाई लाग्छ ।’ अभिनेत्री दीया मास्केले ‘दोख’ र भदौंमा प्रदर्शनमा आउने अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका चरित्र दुवै अर्थपूर्ण रहेको बताइन् । उनले ‘दोख’मा आफ्ूले निर्वाह गरेको चरित्र र फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।
निर्माता सविन ज्ञवाली र फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ–आफ्नो धारणा राखेका थिए । राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिन कवि विप्लव प्रतिक र कलाकार प्रकाश घिमिरे समेत पुगेका थिए ।

प्रतिक्रिया