Bisal Chautari Logo

दिनेशको निर्देशनमा ‘प्रकाश’को टिजर सार्वजनिक || प्रदिप र दियाको सशक्त भुमिकामा

- १८ जेष्ठ २०७९, बुधबार १९:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ १८, बुधवार ।
चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिया मास्केलाई फिचर्ड छन् । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप र दिया सशक्त भुमिकामा देखिएका छन् ।
दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको सिनेमाको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।
टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने सिनेमाको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टर सार्वजनिक भएसँगै ‘प्रकाश’ले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको थियो ।
जुम्लामा छायाँकन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ । चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया