Bisal Chautari Logo

अभिनेत्री दीया पुनले सफल सगरमाथा आरोहण गरिन् || निर्मल पूर्जाको टोलीसँगै

- १३ जेष्ठ २०७९, शुक्रबार १८:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ १३, शुक्रवार ।
अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । दीयाले शुक्रवार बिहान ८,८४८.८६ मिटर उचाईंको सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।
निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत दीया सगरमाथा शिखरमा पुगेकी हुन् । दीया सहित २० जनाको टोलीले एकसाथ सगरमाथा चढेको हो । सगरमाथामा दीयाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको जानकारी पूर्जाले दिएका छन् ।

चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुमेका थिए । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । दीया बेलायतमा नर्सिङ पेशामा आबद्ध छिन् ।
दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् । गत साता गायक राजु लामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए । दीयाले यसअघि नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको पनि आरोहण गरिसकेकी छन् ।
चलचित्र ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा नेपाली सिनेमामा डेब्यू गरेकी उनले ‘मिस्टर झोले’, ‘दयारानी’ मन्त्र लगायतका चलचित्रमा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया