Bisal Chautari Logo

रहेनन् क्रिकेटर कुन्दन

- २६ पुष २०७७, आईतवार ०७:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७  पौष २६ आइतवार ।
राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन भएको छ। महोत्तरी जलेश्वरका कुन्दनको आइतबार निधन भएको प्रदेश २ क्रिकेट संघले जानकारी दिएको छ।

लामो समयदेखि कुन्दन मृगौला रोगी थिए। मृगौला फेल भएपछि उनको उपचारका लागि देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको थियो। तर विभिन्न समस्याबाट गुज्रिँदै आएका कुन्दनको आइतबार निधन भएको हो।

मृगौला फेल भएकै बेला कुन्दनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसमेत भएको थियो। तर उनले कोरोना भाइरसलाई भने जितेका थिए। प्रदेश २ क्रिकेट संघले क्रिकेट पदाधिकारी, खेलाडी तथा उनलाई बचाउन लागिपरिरहेका अभियन्तामा गहिरो दुःख परेको भन्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।

कुन्दनले २०१८ को प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका थिए। प्रदेश २ बाट ओपनर ब्याट्सम्यानको रुपमा उनले प्रधानमन्त्री कपमा तीन खेल खेलेका थिए। पहिलो खेलमा आर्मीविरुद्ध शुन्यमै आउट भएका कुन्दनले गण्डकी प्रदेशविरुद्ध १० रन र प्रदेश १ विरुद्ध १६ रन बनाएका थिए।

प्रतिक्रिया