Bisal Chautari Logo

ट्रिटनमा विद्यार्थीको सर्वांगीण विकासमा ध्यान दिइन्छ : ऋतु न्यौपाने

- २२ पुष २०७७, बुधबार ०६:०७ मा प्रकाशित


ट्रिटन कलेजमा कुन कुन विषयमा अध्यापन हुन्छ?
ट्रिटनमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीएस, बीसीए, बीएसडब्ल्यू र एमबीएस कार्यक्रम सञ्चालित छन्।

यी विषय व्यवस्थापन र सूचना प्रविधि (आईटी) सँग सम्बन्धित हुन्। यी विषयको अध्ययनपछि सजिलै रोजगार प्राप्त गर्न सकिन्छ र आत्मनिर्भर बन्न पनि सहयोग पुग्छ।

यी विषय अध्ययनको मुख्य आकर्षण रोजगार प्राप्ति नै हो?

रोजगारी त हुँदै हो। तर, विद्यार्थीमा बहुआयामिक विकासका लागि यस्ता विषयको अध्ययन आवश्यक हुन्छ। यी विषयको अध्ययनपछि विद्यार्थीले कुनै पनि क्षेत्रको व्यवस्थापन तथा सूचना सञ्चार क्षेत्रमा सीप विकास गर्छन्।  रोजगारदाता पनि यस्ता विषय अध्ययन गरेका व्यक्तिका खोजीमा हुन्छन्।

रोजगारदाताको खास रोजाइचाहिँ के हुन्छ ?

रोजगारदाताले यस्ता विषय अध्ययन गरेका विद्यार्थी खोज्नुको पछाडि उनीहरुको सीप, क्षमता, ज्ञान र जवाफदेहीजस्ता कुराहरु नै प्रमुख हुन्।

व्यवस्थापनमा स्नातक अध्ययनका लागि विद्यार्थीमा चाहिने न्यूनतम मापदण्ड के हो?

सामान्यतया १२ कक्षामा ४५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेका विद्यार्थी व्यवस्थापनमा स्नातकका लागि योग्य मानिन्छन्। उनीहरुमा सीप विकास कसरी गराउने भन्ने चाहिँ कलेजमा भर पर्छ।

व्यवस्थापनको पाठ्यक्रम समयानुकूल छ त ?

अहिले त्रिभुवन विश्वविद्यालयले तयार पारेको पाठ्यक्रममा विषय क्षेत्र अनुरुपको पाठ्यवस्तु समावेश गरिएको छ। पाठ्यक्रम परिमार्जन हुँदै आएको पनि छ। तथापि यसलाई अझ बढी व्यावहारिक, प्रयोगात्मक र खोजमूलक बनाउन आवश्यक छ। यद्यपि, हामी विद्यार्थीको सर्वांगीण विकासका लागि पाठ्यक्रममा समावेश भएबाहेकका विषयवस्तुमा पनि ध्यान दिइरहेका छौं।

व्यवस्थापन र आईटी विषय पढेपछि विद्यार्थीले सिक्ने मुख्य कुरा के हो ?

व्यवस्थापन र आईटी पढ्ने विद्यार्थीले व्यवस्थापकीय सीप र क्षमता तथा प्रविधि, सफ्टवेर डेभलपमेन्ट, एप डेभलपमेन्टजस्ता सीप सिक्छन्। जुन अन्य विषय पढ्दा सम्भव छैन।

यति हुँदाहुँदै पनि नेपालमा विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन् भनिन्छ नि?

विश्वस्तरीय हुनुका साथै शिक्षा देश अनुकूल पनि हुनुपर्छ। हामीले हाम्रा विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु त छँदै छ। त्योभन्दा पनि बढी प्राथमिकता उनीहरु नेपालमै रहेर विशिष्ट योगदान दिन सकून् भन्ने हो।

केही कमीकमजोरी होलान्। तर, नेपालमा विश्वस्तरीय शिक्षा प्राप्त भइरहेको छैन भन्ने चाहिँ होइन। पाठ्यक्रमलाई अझ बढी प्रयोगात्मक, व्यावहारिक, खोजमूलक र व्यावसायिक बनाउने कुरामा सरकार, विश्वविद्यालय र स्वयम् कलेजहरुले पनि विशेष ध्यान दिइरहेका छन्। त्यसमा कलेजले थप ध्यान दिनुपर्छ।

ट्रिटन कलेजमा सञ्चालन भइरहेका कार्यक्रमबारे विद्यार्थीलाई कसरी जानकारी दिइरहनुभएको छ ?

यी कार्यक्रममा भर्नाका लागि कलेज प्रशासनले डिजिटल मार्केटिङ, व्यक्तिगत परामर्श तथा कलेज भिजिटको व्यवस्था मिलाएका छौं। सबैभन्दा बढीचाहिँ कलेजका पूर्व विद्यार्थीको सिफारिस र ख्यातिमा पनि भर पर्छ।

प्रतिक्रिया