Bisal Chautari Logo

बोक्सी आरोपमा कुटपिट गर्ने पक्राउ

- ६ पुष २०७७, सोमबार ०५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
बागलुङ, २०७७ पौष ६ सोमवार ।
बागलुङको बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्णबहादुर रानासहित २८ र १९ वर्षीया दुई महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

आरोपितले मंसिर २८ गते पीडितलाई बोक्सीको आरोपमा मुखमा टेप बाँधी निर्घात कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । महिलाको घाँटी, गाला र शरीरका विभिन्न अंगमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितले पीडित महिलालाई नियोजितरूपमा लामो समयदेखि पटक–पटक मानसिक यातना हुने गरी बोक्सी आरोप लगाउने गरेको पाइएको इन्पेक्टर विजय भण्डारीले जानकारी दिनुभयो । महिलाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

बोक्सीको आरोप (कसूर सजाय) ऐन–२०७२ अनुसार बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने व्यक्तिलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया