Bisal Chautari Logo

बंगलादेशबाट मल खरिद गर्ने सम्झौता

- ३ पुष २०७७, शुक्रबार ०५:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ३ शुक्रवार ।
मल खरिद नेपाललाई बंगलादेशले पैंचो दिने भनेको मल नदिएपछि नेपालले साढे १ अर्बमा ५० हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता गरेको छ । सरकारले जिटुजीमार्फत प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा मल खरिद गर्ने सम्झौता गरेको हो ।

प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा ५० हजार मेट्रिकटन मल खरिद गर्दा नेपाली १ अर्ब ५२ करोड ९२ लाख ५० हजार ५ सय रुपैयाँ पर्ने भएको हो । जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिद बिहीबार नेपाल र बंगलादेश सरकारबीच सम्झौता भएको छ ।

धान रोपाइँमा देशभर मलको हाहाकार भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनासँग टेलिफोनमार्फत संवाद गरी पैंचोमा मल मागेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीचको टेलिफोनमा संवाद भएको मौखिक समझदारीमा बंगलादेशले मल नदिएपछि अहिले जिटुजीमार्फत नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा युरिया मल खरिद गर्न लागेको हो ।

सो सम्झौतामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश सरकारको उद्योग मन्त्रालयको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले एक समारोहबीच बंगलादेशको ढाकामा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया