Bisal Chautari Logo

‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायक र नेपालीको मन जितिसकेको छु’ – सन्तोष साह

- ३ पुष २०७७, शुक्रबार ०४:४४ मा प्रकाशित


एजेन्सि। नेपाली सेफ सन्तोष साहले नेपाली खानालाई विश्वसामु पुर्याउन पाउँदा खुशी लागेको बताउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीन हुनु भएका उहाँले आफूले उपाधि जित्न नसके पनि आफ्नो सपना पूरा भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा साहले नेपाली खाना विश्वसामु पुर्याउने आफ्नो सपना साकार भएको लेख्नु भएको छ । प्रतिस्पर्धाको यो यात्रा लामो र अविस्मरणीय भएको उहाँले उल्लेख गर्नु भएको छ । यस्तै, उहाँले आफूलाई साथ, सहयोग र माया गरेकोमा धन्यवाद दिनु भएको छ ।

मास्टरसेफ यूकेको उपाधि नजिते पनि उहाँले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पुर्याउन सफल हुनुभयो । आफ्नो जित नभए पनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको उहाँको भनाइ छ ।  साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताउनु भएको छ ।

३५ वर्षका साहले भन्नु भएको छ : ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु ।’ प्रतियोगिताका हरेक चरणमा सन्तोष साहले नेपाली खाना नै पस्किरहनु भयो । विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष सम्भवतः पहिलो नेपाली हुनुहुन्छ ।

सिरहाको कर्जन्हाका साह एसएलसी (एसईई) अनुत्तीर्ण भएपछि १५ वर्षको उमेरमा भारत पस्नु भएको थियो । भाँडा माझ्ने कामबाट भान्छाको काम सुरु गरेका उहाँपछि पाँच तारे होटलको एक्जुकेटिभ सेफ समेत बन्नुभयो ।भारतबाट बेलायत गएपछि उहाँले त्यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलमा हेड सेफ भएर काम गर्नु भएको थियो ।

सानैमा बुबा गुमाएका सन्तोषले आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँदै आउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको बिजेता बेलायतका २५ वर्षका एलेक्स वेब हुनु भएको छ ।

प्रतिक्रिया