Bisal Chautari Logo

दाङमा ९ हजार मेट्रिक टन धान उत्पादनमा वृद्धि

- २८ मंसिर २०७७, आईतवार ०५:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
दाङ, २०७७मंसिर २८ आइतवार । 
जिल्लामा यस वर्ष धान उत्पादन ९ हजार ३ सय ५ मेट्रिक टनले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा यो वर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धिसँगै धान उत्पादनमा समेत वृद्धि भएको हो । केन्द्रको तथ्यांकअनुसार अघिल्लो वर्ष भन्दा यस वर्ष ९ हजार ३ सय ५ मेट्रिक टनले धान वृद्धि भएको छ ।

यस वर्ष ३८ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसमा १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत वर्ष ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

जसमा एक लाख ६९ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धान खेती गर्ने क्षेत्रफल समेत वृद्धि भएकोे छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष धानको क्षेत्रफल ७ सय ८७ हेक्टर वृद्धि भएको केन्द्र कृषि अर्थविज्ञ श्रेष्ठले बताए । तर अघिल्ला वर्षहरुमा धान खेती हुने क्षेत्रफल घटदै गएको थियो ।

कोरोनाको कारण नागरिकहरुले रोजगारी गुमाएको र लकडाउन हुँदा उनीहरु खेती गरेको कारण क्षेत्रफल बढेको हो । जिल्लाका कृषकहरुले सुख्खा २, ३, राम धान, विन्देश्वरी, सामा मन्सुली, साबित्री, हाइब्रिड, युएस ३१२, जातका धानका बीउ लगाएका थिए । कृषकले पछिल्लो समय हाइव्रेड बिऊको प्रयोग गर्दै आएकाले पनि पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ ।
समयमै वषा हुनु, कोरोना भाइरसका कारण रोजगारका लागि विदेसिएका नागरिकहरु पनि फिर्ता भएर घरमा भएकाले खेती गरेको कारण क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष समयमा नै वर्षा हुनु क्षेत्रफल बढेकाले अत्पादन समेत बढेको केन्द्रका कृषि अर्थ विज्ञ श्रेष्ठले बताए । “यस वर्ष धान उत्पादनमा वृद्धि हुनुको मुख्य कारण धान खेती हुने क्षेत्रफल बढ्नु, समयमै वर्षा हुनु तथा मल बीउको पर्याप्त हुनु हो” केन्द्रका कृषि अर्थ विज्ञ श्रेष्ठले भने । यस वर्ष कृषकहरुले असारको अन्तयसम्म धान रोपेर सकेका थिए । समयमा पानी परेको तथा प्राप्त मात्रामा जन शक्ति रहकाले समयमा रोपाइ सकिएको कृषकहरुले बताएका छन् ।

सिँचाइ सुविधा नभएका स्थानमा समेत यस वर्ष समयमै रोपाइँ सकिएको थियो । खेतीको समयमा भएको लकडाउनका कारण शहर बस्नेहरु समेत गाउँ फर्केर खेती गरेका थिए । जसका कारण वर्षौंदेखि बाँझो रहँदै आएको खेतमा धान लगाइएको थियो । जिल्लाको देउखुरी, तुलसीपुर लगायतका क्षेत्रमा धान खेती बढी हुने गरेको छ । देउखुरी क्षेत्रमा धेरै सिँचाइ सुविधा रहेको छ भने जिल्लामा अन्य स्थानमा धेरै स्थानमा सिँचाइको सुविधा पुग्न सकेको छैन ।

जिल्लामा यस वर्ष प्लटिङ गरिएका स्थानमा समेत खेती भएको कृषकहरुले बताएका छन् ।
लकडाउनका कारण मानिसहरु फुर्सदिलो भएपछि स–साना टुक्रे जनिनमा खेती गरेका थिए । मौसम, वर्षात तथा मल, बीउ, विजनको सहज उपलब्धताले धान उत्पादनमा वृद्धि भएको कृषकहरु समेत बताए ।

प्रतिक्रिया