Bisal Chautari Logo

मेसी र रोनाल्डोबीच आज रोमाञ्चक खेल

- २३ मंसिर २०७७, मंगलवार ०६:४४ मा प्रकाशित


एजेन्सि । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्तमान समयमा विश्व फुटबलमा राज गरिरहेका खेलाडी हुन् ।

पछिल्लो दशक विश्व फुटबल यी दुई खेलाडीको वरिपरि घुमेको छ । यी दुईले सन् २००८ देखि २०१९ सम्म ११ बालुन ‘डी’ ओर आफ्नो पक्षमा पारेका छन् । जसमा मेसीले ६ र रोनाल्डोले ५ बालुन ‘डि’ओर अवार्ड जितेका छन् ।

सन् २००७ मा ब्राजिलका काकाले बालुन ‘डि’ओर जिते यता यी दुई खेलाडी बाहेकको अर्का खेलाडीलाई यो अवार्ड जित्न दशक कुर्नुपर्यो । काकापछि सन् २०१८ मा क्रोएसियाका लुका मोड्रिचले बालुन ‘डि’ ओर अवार्ड जितेका थिए । कोभिड १९ का कारण २०२० मा यो अवार्ड कसैलाई प्रदान गरिएन ।

आफ्नो करियरको अन्त्यतिर पुगिसकेका ३३ वर्षीय मेसी र ३५ वर्षीय रोनाल्डोले आफ्नो खेल कौशलका कारण धेरैको मन जित्न सफल भएका छन् । विश्व फुटबलमा यी दुईमध्ये को उत्कृष्ट भन्ने विषयमा अहिले पनि चर्चा हुन्छ ।

सन् २००९ मा रोनाल्डो इङ्लिस क्लब म्याचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिड पुगेपछि यी दुईको प्रतिस्पर्धाले उच्च रूप लिएको हो ।

रोनान्डो रियलमा रहुन्जेल यी दुईबीच मैदान भित्रका साथ साथै मैदान बाहिर समर्थकहरूबीच पनि निकै रोमाञ्चक प्रतिस्पर्धा हुने गथ्र्यो ।

सन् २०१८ मा रोनाल्डो रियल छाडेर युभेन्टस लागेपछि यी दुईबीच मैदानी प्रतिस्पर्धा भएको थिएन । यसअघि सन् २०१८ मे ६ मा उनीहरूले एक अर्काविरुद्ध खेलेका थिए । उक्त खेल २–२ को बराबरीमा ढुङ्गिएको थियो ।

करिब २ वर्षपछि मेसी र रोनाल्डो फेरि एक अर्काविरुद्ध मैदानमा उत्रिँदै छन् । आज (मङ्गलबार) च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेल हुँदैछ ।

लामो प्रतीक्षापछि मेसी र रोनाल्डोले एकै साथ खेलेको हेर्न पाइने भएको छ । हुन त यसअघि अक्टोबर २८ मै बार्सिलोना र युभेन्टसले प्रतिस्पर्धा गरेका थिए ।

यही खेलमा मेसी र रोनाल्डोले एक अर्काका विरुद्ध खेल्ने अनुमान थियो तर रोनाल्डोलाई कोरोना पुष्टि भएपछि केही समय प्रतीक्षा गर्नुपरेको हो । उक्त खेलमा  बार्सिलोना २–० ले विजयी भएको थियो ।

खेल नेपाली समयअनुसार राति पौने २ बजे बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । समूह ‘जी’ अन्तर्गत हुने खेलमा आजको नतिजाले कुनै असर पार्ने छैन । यी दुईले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । हालसम्म अपराजित बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदा युभेन्टस दोस्रो स्थानमा छ ।

बार्सिलोना आजको खेलमा जित हात पार्दै आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ भने युभेन्टस पनि पहिलो खेलमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ ।

प्रतिक्रिया