Bisal Chautari Logo

दुई महिनामै अनलाइनबाट काठमाडौं महानगरले उठायो ४३ करोड राजस्व

- २१ मंसिर २०७७, आईतवार ०४:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर २१ आइतवार ।
काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख ५५ हजार ५७२ रुपैयाँ राजस्व संकलन गरेको छ । गत असोज १ गतेदेखि महानगरले अनलाइनमार्फत राजस्व सङ्कलन कार्य सुरु गरेको थियो ।

महानगरपालिकाले अनलाइन बहाल कर वापत मात्रै २१ करोड ५० लाख रुपैयाँ अनलाइनमार्फत असुल गरेको छ । त्यसैगरी सम्पत्ति कर वापत १० करोड ७१ लाख रुपैयाँ र व्यवसाय करको रुपमा चार करोड ४४ लाख रुपैयाँ असुल भएको महानगरले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी वडा नम्बर १ बाट तीन करोड सात लाख ५५ हजार रुपैयाँ, २६ नम्बर वडाबाट २२ करोड ३५ लाख ५२ हजार रुपैयाँ र सबैभन्दा कम वडा नम्बर १८ बाट चार लाख ९८ हजार रुपैयाँ संकलन भएको छ ।

महानगरपालिकाका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन गर्ने कार्यलाई नागरिकले सहजसाथ लिएका छन् । कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र लाइन बस्नुपर्ने समस्याको समेत अन्त्य भएको छ ।

यसैअनुरुप कर सङ्कलन भएको खण्डमा लक्ष्यभन्दा बढी राजस्व असुल हुने कामनपाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । गत आर्थिक वर्षमा कोरोना भाइरसले असर पार्दा समेत लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन भएको थियो ।

अनलाइन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित सिस्टम हो । जसले कर तथा राजस्वको अभिलेख, कर निर्धारण तथा असुलीसम्बन्धी कार्यलाई स्वचालित बनाएको छ ।

अनलाइन कर प्रणालीका लागि पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म राखिएका छन् । जसमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांक करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा रहेको छ । करदातासँग सम्बन्धित र सोधिएका तथा माग गरिएका विवरण भरेपछि कम्प्युटर सिस्टमले स्वचालित रुपमा करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ ।

यसबाट कति रकम तिर्नुपर्ने हो भन्ने कुराको जानकारी लिन सकिन्छ । करदाताको विवरण पेश गरेपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित दरअनुसार कर मूल्याङ्कन रुजु गरी स्वीकृत गर्छन् । त्यसपछि करदाताले ईसेवा, कनेक्ट आईपीएस, फोनपे, आईएमईपे, प्रभु पे लगायतका माध्यमबाट भुक्तानी गर्न सक्छन् ।

प्रतिक्रिया