Bisal Chautari Logo

नेकपा सचिवालय बैठकमा ओलीका आरोपको जवाफ दिने तयारीमा प्रचण्ड

- १६ मंसिर २०७७, मंगलवार ०५:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १६ मंगलवार ।
पार्टीको विवाद जटिल मोडमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक मंगलवार बस्दैछ ।

मंगलवारको बैठक पार्टी  केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्दैछ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आरोप खण्डन गर्दै जवाफी प्रतिवेदन पेश गरेपछिको अवस्थाबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका थिए ।

मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको टिप्पणी गरेका थिए । ओलीले प्रतिवेदनमा लगाएको आरोपबारे मंगलवार प्रचण्डले जवाफ दिने पूर्व माओवादीका एक नेताले जानकारी दिए ।

ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ ।

ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ ।

प्रतिक्रिया