Bisal Chautari Logo

दसैँ-तिहारमा पनि सुनसान बन्यो चलचित्र क्षेत्र

- २७ कार्तिक २०७७, बिहीबार ०५:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक २७ बिहिवार ।
 यदि कोरोनाको महामारी नभएको भए यति बेला चलचित्रकर्मीहरूबीच सिनेमा रिलिजलाई लिएर छिनाझपटी हुने समय हो । सार्वजनिक बिदामा हलमा दर्शकको चाप उच्च हुने हुँदा अधिकांश चलचित्रकर्मी सकेसम्म दसैँ, तिहारजस्ता लामो समय हुने सार्वजनिक बिदामा आफ्नो चलचित्र रिलिज गर्न चाहन्छन् ।

दसैँ-तिहारको सार्वजनिक बिदामा सपरिवार तथा साथीहरू समूहमा चलचित्र हेर्न जाने गरेका कारण यी बिदामा आफ्नो चलचित्र लगाउन चलचित्र निर्माता तथा निर्देशकहरूबीच हानाथाप हुन्छ । यसकै कारण कति निर्माता तथा निर्देशकहरूबीच सम्बन्ध नै चिसिने गरेको छ ।

दसैँ-तिहारको छेको पारेर रिलिज भएका चलचित्र ‘छक्का पञ्जा’ ले १६ करोड, ‘छक्का पञ्जा-२’ले १४ करोड तथा ‘छक्का पञ्जा-३’ले १९ करोड ग्रस कलेक्सन गरेको वितरकको दाबी छ ।

तर, कोरोनाका कारण सिनेमा हल बन्द हुँदा यो वर्ष तिज, दसैँ, तिहारमा रिलिज हुने भनिएका चलचित्र छायांकन नै हुन सकेनन् । दसैँको छेको पारेर ‘छक्का पञ्जा’ र ‘ए मेरो हजुर’को सिरिज रिलिज हुने भनिएको थियो । तर, यीमध्ये ‘छक्का पञ्जा’ छायांकनमै जान सकेन भने ‘ए मेरो हजुर’ छायांकन भइरहे पनि कोरोनाको जोखिमका कारण अधुरै रह्यो । कोरोना कारण चैत पहिलो सातादेखिन नै हल बन्द हुँदा यो वर्षको दसैँ-तिहार चलचित्रका हिसाबले सुनसान रह्यो ।

बनेका चलचित्र पनि कोरोनाका कारण हल बन्द हुँदा रिलिज हुन पाएनन् । रिलिज हुन नसक्दा चलचित्रमा रहेको करोडौं रकम फ्रिज भएको छ ।

कहिले सिनेमा हल खुल्ने, कहिले अवस्था सामान्य भएर दर्शक हलसम्म जाने, अब चलचित्र कुन विन्दुबाट सुरु हुने भन्ने अन्योल रहँदा धेरै चलचित्रकर्मीहरूले काम सुरु गर्न सकेका छैनन् ।

कोरोनाको संक्रमण सुरु हुँदा स्क्रिप्टमा काम गरिरहेको ‘छक्का पञ्जा’ युनिटले अहिले चलचित्रको काम रोकिसकेको छ । कलाकार तथा निर्माता दीपकराज गिरी केही महिनायता फार्म-हाउस खोल्ने तयारी गरिरहेका छन् । उनी चन्द्रागिरीस्थित दहचोकमा रहेको आफ्नो जग्गामा फार्म-हाउस खोल्ने योजना बनाइरहेका छन् । उनी कम्तीमा अबको एक वर्ष चलचित्र निर्माण नगर्ने बताउँछन् ।

“चलचित्र क्षेत्र अब कहिले पहिलाको अवस्थामा फर्किने र अब कसरी कुन बिन्दुबाट कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । यस्तो अन्योलमा जबरजस्ती यही क्षेत्रमा नै काम गर्छु भन्नुभन्दा पनि पहिला आफूले गर्दै गरेको कृषि कर्म पनि गर्न सकिन्छ,” उनी भन्छन्, “अहिले सरकारले कृषि क्षेत्रमा केही सहुलियत दिएर उक्त कर्ममा लाग्न प्रेरित पनि गरिरहेको छ । त्यसैले म फार्म-हाउस खोल्ने योजना बनाइरहेको छु ।”

करिब-करिब चलचित्र निर्माण सम्पन्‍न गरेर बसेका सन्तोष सेन, शिवहरि पौडेल, खगेन्द्र लामिछाने, माओत्से गुरुङलगायत कलाकार तथा निर्देशक/निर्माताहरू यदि तिहारपछि सिनेमा हल खुल्यो भने पनि आफ्नो चलचित्र रिलिजका लागि डेट लिने अवस्थामा छैनन् । कारण दर्शक हलमा आउँछन् वा आउँदैनन् भन्ने यकिन नभएसम्म रिलिज डेट लिन सकिने अवस्था नरहेको शिवहरि पौडेल बताउँछन् । उनले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ करिब निर्माण सम्पन्न भइसकेको छ ।
पुराना चलचित्र लगाएर हलमा दर्शक आउने वा नआउने हेरेर निश्चित भएपछि मात्रै आफू रिलिज डेट लिने शिवहरि बताउँछन् ।

कलाकार, निर्देशक तथा निर्माता माओत्से गुरुङ पनि करोडौं रुपैयाँमा बनेको चलचित्र हतारमा हल रिलिज गरेर लगानी नडुबाउने बताउँछन् । उनी दर्शक ढुक्कले हल जाने अवस्था नबनेसम्म चलचित्र प्रदर्शनमा हतार गर्न नहुने धारणा राख्छन् । माओत्से तत्काल चलचित्र रिलिजको सम्भावना नभएपछि नयाँ चलचित्रको स्क्रिप्ट लेखनमा जुटेका छन् ।

दसैँअगाडि नै सिनेमा हल खोल्ने र पुराना चलचित्र लगाएर नयाँ चलचित्र प्रदर्शनका लागि पूर्वतयारी गर्ने चलचित्र विकास बोर्डले पहल गरे पनि कोरोना संक्रमण बढ्दै गएका कारण सिनेमा हल अझै खुल्न सकेका छैनन् ।

प्रतिक्रिया